काठमाडौँ । अध्यागमन विभागले श्रमिकले वैदेशिक रोजगारीमा जाने विषयमा उत्पन्न अन्यौलता चिर्दै आफ्नो धारणा सार्वजनिक गरेको छ । विभागले सूचना जारी गर्दै वैदेशिक रोजगार विभागबाट चैत २३ गते जारी भएको सूचना तथा विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट प्रस्थान हुने श्रमिकले विल र रसिद लगायतका थप कागजात लिएर मात्र प्रस्थान गर्न मिल्ने विषयमा देखिएको अन्यौलता चिर्न खोजेको हो ।
विभागले गृह मन्त्रालयको मिति २०८२ कात्तिक १३ गतेको मन्त्रिस्तरीय निर्णय र प्रचलित अध्यागमन कानून अनुसार भिजिट भिसामा नेपालबाट प्रस्थान गर्ने नेपाली नागरिकका सन्दर्भमा भनेको छ, ‘कम्तीमा ६ महिना वैध अवधि भएको राहदानी, गन्तव्य मुलुकसम्मको हवाईटिकट र सम्बन्धित मुलुकको भिसा भएमा स्वघोषणा सहित विदेश प्रस्थान सरलीकृत र व्यवस्थित गरिएको छ ।’
विभागले वैदेशिक रोजगारीको सिलसिलामा प्रस्थान गर्ने नेपाली श्रमिकको हकमा भने वैदेशिक रोजगार विभागबाट जारी भएको श्रम स्वीकृति र राहदानी लगायतका न्यूनतम् आधारभूत कागजात बाहेक नेपाली श्रमिकहरूले नेपाल बाहिर प्रस्थान गर्दा अध्यागमन कार्यालयमा थप कुनै पनि कागजात तथा विलररसिद पेश गर्न नपर्ने पनि जनाएको छ ।
विभागले भनेको छ, ‘विदेश यात्रा गर्ने नेपाली नागरिक कुनै पनि किसिमको भ्रममा नपरी आफ्नो गन्तव्य मुलुक र यात्राको बारेमा पूर्ण रूपमा सुसूचित भई निर्धक्क यात्रा गर्न सक्नेछन् ।’
