काठमाडौँ । विद्युतीय चुरोट (भेप) मार्फत् सुन तस्करी गरेको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा रेशमसहित २८ जना र एउटा कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महरासहित त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार प्रशासक अरुण पोखरेललगायतलाई प्रतिवादी बनाउँदै बिहीबार मुद्दा दर्ता गरेको हो । उनीहरूले ७ करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँ १९ पैसा भ्रष्टाचार गरेको आरोपमा सोहीबमोजिम बिगो मागदाबी गरिएको छ ।
१० पुस, २०७९ मा त्रिभुवन विमानस्थलमा जाँचका क्रममा लि हाङ सङ नाम गरेका चिनियाँ नागरिकले दुइटा सुटकेसभित्र ७३ बट्टामा ७३० थान भेपभित्र लुकाएर सुन तस्करी गरेको भेटिएको थियो । सुन तस्करी भएको पत्ता लागेपछि भौतिक रूपमा जाँच गर्नुपर्ने भए पनि भन्सार कर्मचारीहरूले भन्सार ऐनविपरीत हुने गरी जाँच नै नगरी पछि अनुकूल समयमा सट्टापट्टा गर्ने गरी प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठको कार्यकक्षमा पु¥याएका थिए । सोही दिनदेखि सो भेप छुटाउन पूर्वसभामुख महरा तथा उनका छोरा रेशम सक्रिय भएको देखिएको थियो । महरा परिवारको दबाबमा भन्सार विभागका प्रमुख पोखरेलसहित विभागका कर्मचारी र बिचौलियाको मिलेमतोमा सुन भएको भेप झिकी सुन नभएको भेप राखेर सट्टापट्टा गरिएको थियो ।
सोही प्रकरणको उजुरीका आधारमा उनीहरूविरुद्ध मुद्दा चलाइएको हो । भेपमार्फत् तस्करी गरिएको ८ हजार ४८०.५१ ग्राम सुनको हुन आउने मूल्य ७ करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँ १९ पैसा बराबरको सम्पत्ति हानिनोक्सानी गरेको पुष्टि भएको भन्दै प्रतिवादीहरूविरुद्ध त्यति नै रकम बिगो दाबी गरिएको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए । अख्तियारले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार प्रशासक पोखरेल, प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठ, प्रमुख भन्सार अधिकृत अम्बिकाप्रसाद खनाल, भन्सार अधिकृत रमेशकुमार खतिवडा र भन्सार अधिकृत सुबेन्द्र श्रेष्ठविरुद्ध मुद्दा दर्ता भएको छ । त्यस्तै, नासुहरू सुवर्णाप्रभा केसी, भुवनराज घिमिरे, उमेशप्रसाद कोइराला, रेवन्त खड्का र मधुसूदन पोखरेललाई पनि प्रतिवादी बनाइएको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा ७ करोड ७८ लाख ६८ हजार ९५ रुपैया १९ पैसा बिगो कायम गरिएको हो । उनीहरूलाई दफा १७ को सम्पत्तिको हिनामिना वा दुरुपयोग गर्नेलाई सजायअन्तर्गतको कसुरमा सोही ऐनको दफा ३ को उपदफा १(छ) बमोजिमको जरिमाना गरी कारबाही माग गरिएको छ । सो दफाअनुसार उनीहरूलाई ८ देखि १० वर्षसम्म कैद हुने व्यवस्था छ । साथै तत्कालीन भन्सार कार्यालयका प्रमुख पोखरेललाई दफा २४ को थप सजायको व्यवस्थासमेत गरी थप ३ वर्षसम्मको कैद सजाय माग गरिएको छ । त्यसैगरी, पूर्वसभामुख महरा, उनका छोरा राहुल भनिने रेशम, निर्मलकुमार विक, लोकेन्द्रकुमार पौडेल, दीपेश बस्नेत, गोपाल सुवेदी, दिनेश बस्नेत, वेदप्रकाश अग्रवाल, रामकेशव थापा क्षेत्री, अमृत कार्की, निमा गुरुङ, प्रेरणा थापा, ललिता थापा र दीपिका थापाविरुद्ध पनि मुद्दा दर्ता भएको छ । त्यसैगरी, चिनियाँ नागरिक लि हाङ सङ, दाओजिङ वाङ, बल्जियम नागरिक दावा छिरिङ र भारतीय नागरिक साहेव राव पाण्डुरङ मरगविरुद्ध पनि मुद्दा दर्ता भएको छ । त्यस्तै डेक्स्टर ट्राभल्स् एन्ड टुर्स प्राइभेट लिमिटेड कम्पनीलाई पनि प्रतिवादी बनाइएको छ । उनीहरू सबैउपर बिगो रकम असुलसहित ८ देखि १० वर्षको कैद सजाय माग गरिएको छ ।