काठमाडौँ । ट्रमाटिक ब्रेन इन्जुरी (मस्तिष्कमा गम्भीर चोट) भोगेका बेलायतीहरूको प्रेरणादायी यात्रामा आधारित डकुमेन्ट्री फिल्म 'द एभरेस्ट ड्रिम' आइतबार नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा प्रिमियर गरिएको छ । प्रिमियर कार्यक्रममा उपस्थित नेपालका लागि बेलायती राजदूत रब फेन डकुमेन्ट्री फिल्म हेर्दा निकै भावुक बनेका थिए ।
स्कटल्यान्डका ब्रेन इन्जुरीबाट बाँचेका व्यक्तिहरूले सगरमाथा बेस क्याम्पसम्म पुग्ने लक्ष्यसहित गरेको असाधारण यात्रालाई समेटिएको यस फिल्मको निर्देशन पत्रकार तथा फिल्म निर्देशक गणेश पाण्डेले गरेका हुन् । करिब डेढ वर्षको मेहनतपछि तयार भएको फिल्मले गम्भीर दुर्घटनापछि जीवनसँग जुधिरहेका व्यक्तिहरूले आशा र आत्मविश्वासका साथ नयाँ सपना पछ्याएको कथा प्रस्तुत गर्छ ।
डाक्टरहरूले सामान्य जीवनमा फर्किन कठिन हुने बताए पनि उनीहरूले हार नमानी नेपाल आएर एभरेस्ट बेस क्याम्पसम्मको यात्रा तय गरेका थिए । फिल्ममा स्कटल्यान्डबाट सुरु भएको यात्रा, काठमाडौं आगमन र खुम्बु क्षेत्र हुँदै बेस क्याम्पतर्फको भावनात्मक तथा चुनौतीपूर्ण पदयात्रा समेटिएको छ । उचाइ, थकान र स्वास्थ्य समस्याबीच पनि उनीहरू एकअर्काको साथ र शेर्पा गाइडहरूको सहयोगमा अघि बढ्ने प्रयास देखिन्छ ।
यात्राका क्रममा केही कठिन क्षणहरू पनि फिल्ममा समावेश छन्- एक सदस्य केही समय समूहबाट हराउने घटना र अर्का सदस्य स्वास्थ्य समस्याका कारण बेस क्याम्प पुग्नुअघि नै रोकिनुपरेको अवस्था ।
निर्देशक पाण्डेका अनुसार, “यो फिल्मले ब्रेन इन्जुरीपछि पनि जीवनमा नयाँ सपना देख्न सकिन्छ भन्ने सन्देश दिन्छ ।” द लिटिल शेर्पा फाउण्डेशनका जेम्स ल्याम्बको नेतृत्वमा पाँच जना बिरामी र परिवारसहित सात जनाको टोलीले सगरमाथा बेस क्याम्पसम्मको यात्रा पूरा गरेका थिए ।
दर्शकका रूपमा आएका बेलायती राजदूत रब फेनले डकुमेानट्री फिल्मलाई “एकदमै प्रेरणादायी कथा” भएको प्रतिक्रिया दिएका छन् । त्यसैगरी विश्वविद्यालय अफ साउदर्न क्यालिफोर्नियाकी प्राध्यापक जेनिफर कूलले पनि यो डकुमेन्ट्रीबाट आफू निकै प्रभावित भएको बताएकी छन् ।
फिल्म निर्माणका क्रममा निर्देशक पाण्डे स्वयंले पनि चुनौती सामना गरेका थिए। बेस क्याम्प पुग्नै लाग्दा अक्सिजनको कमी भएपछि उनी हेलिकप्टरमार्फत फर्किनु परेको थियो ।
निर्देशक पाण्डेका अघिल्ला डकुमेन्ट्रीहरू पनि अन्तर्राष्ट्रिय स्तरमा सफल भइसकेका छन् । भूकम्पसम्बन्धी “भाग्यले बाँचेकाहरू” ले १७ भन्दा बढी अन्तर्राष्ट्रिय पुरस्कार जितेको थियो भने बहुपति प्रथामा आधारित “को-हजबेण्ड” ले पनि एक दर्जनभन्दा बढी अवार्ड जित्दै ४० भन्दा बढी अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा प्रदर्शन भएको थियो ।
फिल्ममा एसोसिएट निर्मात्री शारदा गैरे, क्यामेरापर्सन सुरेश श्रेष्ठ र निरज पन्थी, सम्पादक ईश्वर कोइराला, संगीतकार जुगल डंगोल र सन्दीप सरदार तथा न्यारेटर कौशल घिमिरेको योगदान रहेको छ ।
आजको प्रिमियरसँगै “द एभरेस्ट ड्रिम” अब विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा पनि प्रदर्शन गरिने निर्देशक पाण्डेले जानकारी दिएका छन् ।