काठमाडाैँ । लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा एवं गीतकार रिमा श्रेष्ठ र चर्चित गायक प्रमोद खरेलको सहकार्यमा नयाँ सांगीतिक कोसेली ‘याद’ सार्वजनिक भएको छ । पेशाले आइटी इन्जिनियर भए तापनि लेखन र कलालाई निरन्तरता दिँदै आएकी श्रेष्ठले बिछोड, माया–प्रेम र समाजमा सकारात्मक ऊर्जा दिने विषयवस्तुमा आधारित थुप्रै गीतहरू नेपाली संगीत क्षेत्रलाई प्रदान गरिसकेकी छिन् ।
व्यस्त जीवनशैलीका बीच पनि नेपाली कला, संस्कृति र भाषाप्रति समर्पित उनले अन्जु पन्त, स्वरूपराज आचार्य, राजेश पायल राई, अस्मिता अधिकारी, मेनुका पौडेल लगायतका स्थापित कलाकारहरूसँग सहकार्य गरिसकेकी छिन् । हालै सार्वजनिक भएको ‘याद’ गीतमा रविन्द्र पौडेलको संगीत रहेको छ भने यसको म्युजिक भिडियोमा डा. सुभाष आचार्य, रविन्द्र पौडेल र कृतिका बस्नेतको अभिनय देख्न सकिन्छ। सोनाम पाख्रिनको निर्देशन, दिनेश पराजुलीको छायांकन र विकास दाहालको सम्पादन रहेको यो भिडियो ‘रिमा श्रेष्ठ वर्ल्ड’ नामक युट्युब च्यानलमार्फत बजारमा आएको हो ।
विगत ६ वर्षदेखि Kansas City Nepalese Society मा सल्लाहकारको रूपमा योगदान दिँदै प्रवासमा नेपाली संस्कृतिको जगेर्ना गर्न नयाँ वर्ष, तीज, होली र दशैं जस्ता कार्यक्रमहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी श्रेष्ठको यस नयाँ सिर्जनाले नेपाली सांगीतिक क्षेत्रमा अर्को इँटा थप्ने विश्वास गरिएको छ।