बी. अविरल
केपी ओलीले राजीनामा दिनु पनि पर्दैन, नैतिकताको जिम्मेवारी लिनु पनि पर्दैन ! किनभने पार्टी अध्यक्ष उहाँ होइन म हुँ, प्रधानमन्त्री उहाँ होइन म थिएँ । २३ र २४ गतेको घटनामा आदेश उहाँले दिएको होइन, मैले दिएको हुँ ।
एमालेको ११औँ महाधिवेशनमा पार्टी अध्यक्ष उहाँले जितेको होइन, मैले जितेको हुँ। २१ गतेको निर्वाचनका लागि पार्टीको टिकट उहाँले बाँडेको होइन, मैले बाँडेको हुँ । टिकट दिँदा हार्नेलाई होइन, जित्नेलाई दिएको हुँ। पार्टीभित्रका इमानदार नेता-कार्यकर्ताहरूलाई पाखा उहाँले होइन, मैले लगाएको हुँ । विद्या भण्डारीको तेजोवध उहाँले होइन, मैले गराएको हुँ ।
पार्टीभित्र र बाहिरका मान्छेहरूको मुटु फुट्ने गरी शब्दबाण उहाँले होइन, मैले छोडेको हुँ । चाहिने-नचाहिने उट्याङपट्याङ कुरा उहाँले होइन, मैले गरेको हुँ । अरू दलहरूको खिसिटिउरी उहाँले होइन, मैले गरेको हुँ। हनुमानहरू महेश बस्नेत, सूर्य थापा, रामकुमारी झाँक्री, शंकर पोखरेललाई तथानाम बोल्न उहाँले होइन, मैले लगाएको हुँ । बाँदरहरू रामप्रसाद रिजाल, रवि चुडाल, ज्योति मगरलाई छाडा बोल्न उहाँले होइन, मैले लगाएको हुँ। अरू पार्टीका उम्मेदवारहरूको जमानत गराइदिन्छौँ भनेर भेडाहरूलाई बोल्न उहाँले होइन, मैले लगाएको हुँ ।
त्यसकारण उहाँ पार्टी अध्यक्ष पनि होइन, तत्कालीन प्रधानमन्त्री पनि होइन, किन राजीनामा दिने? किन जेल जाने? राजीनामा दिने त मैले हो— पार्टी अध्यक्ष हुँ! जेल जाने त म हुँ— त्यसबेला प्रधानमन्त्री थिएँ !