काठमाडौँ । लोकगायक तथा सञ्चारकर्मी कमल बिके निर्मोहीको निधन भएको छ। केही वर्षदेखि मिर्गौला सम्बन्धी समस्याका कारण अस्वस्थ उनको मंगलबार साँझ निधन भएको हो । गायिका कोमल वलीले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै निर्मोहीको निधनबारे जानकारी दिएकी हुन् ।
वलीले उनको मृत्युले आफू मर्माहत भएको उल्लेख गरेकी छन् । आफूले कमलसँग गाएकामध्ये ‘त्यो माडी खोलाले छेकेको हैन, मलाई छेक्यो मायालु तिमै मायाले’ निकै लोकप्रिय बनेको समेत कोमलले स्मरण गरेकी छन् ।
दाङमा जन्मिएका निर्मोही पछिल्लो समय नेपालगञ्जमा बस्दै आएका थिए । उनी रेडियो नेपालका पूर्व कर्मचारी समेत हुन्। रेडियो नेपालमा उनका दर्जनौं गीत रेकर्ड भएका छन् । जसमध्ये ‘लाग्यो माया मोहनी नजरमा’, ‘पोखरामा क्या राम्रो रूपाताल, डुंगा चढी सलल मायाजाल’ लगायतका थुप्रै गीत चर्चित छन् । केही लोकपप र आधुनिक गीतमा समेत उनले स्वर दिएका छन् ।
निर्मोहीको परिवारमा एक छोरा र दुई छोरी छन् । करिब एक महिनाअघि उनकी पत्नीको समेत दुःखद निधन भएको थियो। निर्मोहीको बुधबार दिउँसो दाङको सिधनियाघाट राप्तीनदीमा अन्तिम संस्कार गरिने परिवारिक स्रोतले जनाएको छ ।