लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका दर्शन र शिक्षाको प्रचारक र अनुयायी भएर समाजमा प्रस्तुत हुन आग्रह गरेका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्त तथा २० औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै कुलपति एवम् प्रधानमन्त्री ओलीले यसो भनेका हुन् ।
सबै सुखी होउन् भन्ने बुद्धका सन्देशको अर्काे रुप नै आफूहरूले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा भएकाले यसलाई पूरा गर्न उनले सबैमा आग्रह गरे ।अभिभावको लगानी, माया र मेहनतबाट दीक्षित हुने अवस्थासम्मको सफलता प्राप्त गरेकामा अभिभावक र विद्यार्थीलाई बधाई दिँदै प्रधानमन्त्री ओलीले बुद्ध दर्शन, आचरण र शिक्षाको प्रचारक र अनुयायी भएर समाजमा प्रस्तुत हुन आग्रह गरे ।
‘मानवीय गुण भनेको ढाँटछल, जालझेल र प्रपञ्च होइन । मानवीय गुण भनेको शान्ति, करुणा र प्रेमको गुण हो’ प्रधानमन्त्रले भने, ‘घृणाले घृणा, अशान्तिले अशान्ति र शत्रुताले शत्रुता बढाउने तथा प्रेमले प्रेम, शान्तिले शान्ति र राम्रोले राम्रो नै बढाउने बुद्धदर्शनलाई हामीले पछ्याउनुपर्छ । नराम्रो मार्गमा हिँड्न हुन्न भन्ने थाहा पाएर पनि त्यस बाटोमा मान्छे हिँडिरहेको हुन्छ । त्यसबाट लाभ हुँदैन भन्ने थाहा पाएर गलत कामको लत बसाउनु हुँदैन । अशल मार्गमा हिँड्न सक्नुपर्छ ।’
प्रधानमन्त्री ओलीले लुम्बिनी बुद्धको जन्मथलो र बौद्ध दर्शनको पनि थलो भएको उल्लेख गर्दै यसलाई पावनभूमिका रुपमा विकासित र प्रचारप्रसार गर्न सरकारले पहल गर्दै आएको बताए।
आफू पहिलो पटक प्रधानमन्त्री हुँदा लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको आयोजना गरेको र दोस्रो कार्यकालमा पाँच हजार जना सहभागी हुन सक्ने ध्यान केन्द्र बनाउने काम गरेको स्मरण गरेका छन् ।
समारोहमा कुलपति ओलीबाट भिक्षुणी धम्मावती गुरुमालाई मानार्थ विद्यावारिधिसहित विभिन्न संकायमा उपाधिप्राप्त दुई सय ८९ जना दीक्षित भएका थिए ।
प्रधानमन्त्री ओलीले जीवनमा कसैको कुभलो नचिताउने तथा सधैँ सकारात्मक चिन्तन र व्यवहार प्रदर्शन गर्ने गुरुमाले मानार्थ विद्यावारिधिको सम्मान स्वीकारेर विश्वविद्यालयलाई थप सुपरिचित गराएको बताए।