काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तिहारका अवसरमा नेपाली फूलको प्रयोग र उत्पादनलाई प्रवर्द्धन गर्न महानगर क्षेत्रभित्रका ४६ स्थानमा बिक्रीवितरणको प्रबन्ध गरेको छ ।
महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूलको बिक्रीवितरणलाई व्यवस्थित गर्न यस वर्षको दिपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा महानगरपालिका क्षेत्रभित्रका ४६ स्थान तोकेको हो ।
महानगरले प्लाष्टिकजन्य फूल तथा सजावटका सामग्री बिक्रीवितरणमा रोक लगाउँदै स्वदेशमा उत्पादन भएका फूलको व्यापारलाई प्रवर्धन गरेको हो ।
गएको वर्ष पनि प्रदर्शनी मार्गको भृकुटीमण्डप, तीनकुने चउर, हाँडीगाउँ र बालाजु विष्णुमती कोरिडोरमा फूल बिक्री गर्ने स्थान मिलाइएको थियो । त्यस ठाउँमा पुग्न महानगर प्रहरी बलको सवारी साधन उपयोग गरिएको थियो । गएको वर्षको सिकाइ र अभ्यासबाट यस वर्ष फूल बिक्रेता किसानहरूलाई सहज बनाउने प्रयास हुने महानगरले बताएको छ । यसका लागि मल, मार्ट, पार्क, पार्टी प्यालेस, सेन्टरहरूमा व्यवस्था मिलाइएको छ ।
महानगरले माछा पोखरीको आरती पार्टी प्यालेस, बुद्ध मल, बालाजु भाटभटेनी, बालाजुको भ्याली कोल्ड स्टोर, सामुदायिक भवन र स्वयम्भूको धर्म चक्र पार्क तथा स्वयम्भू मार्टलाई बिक्री स्थल तोकिएको छ । यस्तै कलंकीको भाटभटेनी, कलंकी ट्र्रेड सेन्टर, एसएनएस कलंकी, एनबिटिसी कलंकी, खुशिँवुको नेपा व्याङ्क्वेट, बिग मार्ट कालधारा, साल्ट ट्र्रेडिङ कर्पोरेसन कालीमाटी, सुन्धाराको काठमाडौँ मल, सिभिल मल, सिटिसी मललाई तोकिएको छ ।
यस्तै, रञ्जना मल नयाँ सडक, विग मार्ट कम्प्लेक्स अनामनगर, एटि कम्प्लेक्स न्यू प्लाजा, भाटभटेनी अनामनगर, आइटी प्लाजा कमलादी, संकटा चोक टेवहाल, केएल टावर चाबहिल, बी एन्ड एसएम बौद्ध, भर्गो जापान शंखमुल, आइप्लेक्स बानेश्वर, एनबी सेन्टर नयाँ बानेश्वर, फोनिक्स टावर बत्तीसपुतली, चाबहिल फुटबल चौर चाबहिल गणेश स्थान, बिगमार्ट शंखमुल, बिबिएसएम कोटेश्वर, सिफल चौर सिफल, केटिएम पार्टी प्यालेस, निराकल कम्प्लेक्स शंखमुल, एसी कम्प्लेक्स चाबहिल, भाटभटेनी कोटेश्वर, भाटभटेनी नक्साल, बिग मार्ग बालुवाटार, महाराजगञ्जको सेल्स बेरी र भाटभटेनी, सामाखुशीको कोइराला मार्ट तथा बिग मार्ट, सिटी सेन्टर कमलपोखरी, ल्होत्से मल बालाजु र सोह्र खुट्टेको सासा ब्याङकेटमा बिक्री स्थल तोकिएको छ ।
स्वदेशी फूल व्यापारी किसानहरूले आफूलाई पायक पर्ने स्थान छनोट गरेर बिक्री गर्न सक्ने बताइएको छ । यसका लागि सम्पर्क व्यक्तिको नम्बर वा महानगर प्रहरी बलको क्षेत्रबाट पनि सहजीकरण काम हुने महानगरले जानकारी दिएको छ ।
यससँगै व्यापारीहरूलाई फूल तथा अन्य सजावटका सामग्री बिक्रीवितरण नगर्न नगराउन महानगरले अनुरोध गरेको छ । यदि कसैले लुकिछिपी बिक्री गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने महानगरले चेतावनी दिएको छ ।