काठमाडौँ । २०७९ सालको दसैँमा नेपाली र हिन्दी भाषामा एकसाथ प्रदर्शनमा आएको फिल्म ‘प्रेम गीत–३’ ओटिटी प्लेटफर्म एप ‘सिनेमा घर’मा राखिएको छ । नायक प्रदीप खड्का र नायिका क्रिस्टिना गुरुङको शीर्ष भूमिका रहेको यस फिल्म पहिलोपटक भारतमा पनि प्रदर्शन भएको थियो ।यस फिल्म खजाग राज्यका कान्छा राजकुमार प्रेम (प्रदीप) र उनकी प्रेमिका गीत (गीत) को कथा छ । फिल्ममा प्रेम शुभ समयमा जन्मिएका कारण राजा हुने भविष्यवाणी गरिएको हुन्छ । त्यसपछिको उनको जीवनको उत्तारचढाव फिल्ममा देखाइएको छ ।
यस फिल्ममा प्रदीप र क्रिस्टिनासहित शिव श्रेष्ठ, मनिष राउत, अनुभव रेग्मी, समृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवालगायत कलाकारको अभिनय छ । यो चलचित्रलाई छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त निर्देशन गरेका हुन् । ‘प्रेम गीत’ सार्वजनिकसँगै सिनेमा घर एपले नयाँ फिचर ल्याएको छ । यसअघि सिनेमा घरका सामग्री मोबाइल र स्मार्ट टिभीमा मात्रै हेर्न सकिन्थ्यो । अब ल्यापटप र डेस्कटपबाट वेब ब्राउजरमार्फत सिनेमाघरका सामग्री हेर्न सकिन्छ ।