सिन्धुपाल्चोक । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अमनकुमार मास्केले सामाजिक सद्भाव, समन्वय, सहकार्य र सहअस्तित्व कायम राख्दै विकासका कामलाई अगाडी बढाउने बताएका छन् । छापभन्ज्याङ ठाँटीपोखरी ढाँडखोला फट्केश्वर सडक कालोपत्रेको लागी शिलान्यास गर्दै मन्त्री मास्केले हाम्रा राजनीतिक आस्थाहरु फरक फरक भएपनि सबै मिलेर सहकार्य र सहअस्तित्व कायम गर्दै विकास गर्ने कुरामा आफु सचेत रहेको बताएका हुन् । भोटेकोसी, भुकम्प, मेलम्ची बाढी, र लार्केको बाढीले थलथलाएको सिन्धुपाल्चोकलाई अब सबै पार्टी मिलेर यहाँको समस्या समाधानमा लागी सहकार्य गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रमका प्रमुख अतिथि मन्त्री मास्केले बागमती प्रदेश संगै देशको समृद्धिको लागी अब पनि काम नगर्ने हो भने कहिले गर्ने भन्दै प्रश्न गरे । उनले रुग्ण आयोजनाका निर्माण ब्यबशायी हरुलाई समयमै गुणस्तरीय काम गर्न निर्देशन दिदैं समयमै काम नगर्ने ठेकेदारहरुको ठेक्का तोड्दै र कालोसूचीमामा हाल्ने चेतावनी दिए ।
उनले ठेकेदारका कारण अलपत्र परेका आयोजनाहरुको काम सम्पन्न गर्नका लागी उनीहरुकै घरघरबाट असुली गर्नेसमेत बताए । मन्त्री मास्केले छापभन्ज्याङ ठाँटीपोखरी ढाँडखोला फट्केश्वर सडक तोकेका समय भित्र काम सम्पन्न गर्न निर्देशन दिए ।
दादागिरी र राजनीतिक दबाबको आधारमा कसैको पनि समयावधि नथपिने बताउँदै मन्त्री पद भनेको अस्थायी भएपनि स्थायी भएर काम गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा पूर्व भौतिक पूर्वाधार तथा विकास मन्त्री युवराज दुलाल शरदले समयमै काम सम्पन्न गर्न र गुणस्तरीय काम सम्पन्न गर्नका लागी शुभकामना व्यक्त गरे । समयमै सम्पन्न गर्नका लागी उपयुक्त वातावरण बन्नेमा आफु बिश्वस्त रहेको उनको भनाई थियो ।
आगामी दिनमा गर्नपर्ने सहयोग गर्नका लागी आफु तयार बताउँदै पूर्वमन्त्री दुलालले जो सुकै सरकारमा भएपनि राज्य प्रतिको र जनता प्रतिको दायित्व पुरा गर्नेगरि काम गर्नुपर्ने बताए । उनले जनताको मन मन जोड्नुपनि देश बनाउनु भएकाले आफ्नो दायित्व पुरा गर्न सुझाव दिए ।
पूर्वमन्त्री दुलालले प्रदेश सडक गुरुयोजना तयार गरेर पास गरेको स्मरण गर्दैे एउटा योजना बनाएर ति योजना कार्यान्वयन गर्न आग्रह गरे । गुठी समस्या समाधानको लागी पहल गर्नेकुरामा आफु सधैं अग्रसर रहेको बताए ।
उनले पधेरेचौर देखि फट्केस्वर सडकमा समेत एकहप्ता भित्र टेण्डर आह्वान गरेर कालोपत्रेका लागी प्रक्रिया अगाडि बढाउन आग्रह गरे ।
कार्यक्रममा पूर्व सांसद सुवास कर्मचार्यले सो क्ष्ेत्रबाट काठमाडौँ राजधानी जानको लागी सबैभन्दा छोटो र पक्की भएकाले यो सडकको महत्त्व रहेको बताए । उनले समयमै काम सम्पन्न गर्नेगरि लाग्न आग्रह गरे । कर्मचार्यले गुठी समस्या समाधानका लागी नेकपा एमालेले विगत देखी नै कुरा उठाउदै आएको भन्दै यो ठाउँको समस्या समस्या समाधानका लागी चासो दिन आग्रह गरे ।
मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानले ठेक्का प्रक्रियामा जादा समयमै काम सम्पन्न नहुने, म्याद थप्दै काम गर्दै गर्नुपर्ने बाध्यताले गुणस्तरीय काम नहुने भन्दै यस्ता समस्या समाधानको लागी मन्त्रालयको ध्यानाकर्षण गराइन् । उनले सहज रुपमा काम सम्पन्न गर्ने वातावरण मिलाउन पनि सबै स्थानीयलाई आग्रह गरिन् ।
उनले स्थानीय सरकार संग समन्वय नगरि कतिपय काम हुने गरेको भन्दै समन्वय अनि गुणस्तरीय काम हुनेमा आफु ढुक्क रहेको बताइन् ।
वडा अध्यक्ष श्रीराम घोरासैनीले गुठी समस्या समाधानका लागी पहल गर्न आग्रह गरे । पुर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकको आयोजनामा भएको कार्यक्रम कार्यालय प्रमुख भरतकुमार यादवको अध्यक्षतामा भएको थियो ।
भ्याट सहित ११ करोडमा ठेक्का सो सडक २०८२ पौष १५ भित्र सम्पन्न गर्नुपर्ने यादवले जानकारी दिए । समयमै काम सम्पन्न गर्ने कुरामा ढुक्क हुन आग्रह गरे । कुश टिएसएनजेभीले निमार्णको ठेक्का पाएको छ ।