काठमाडौं । नेपाली नारीहरुको महानचाड हरितालिका तीजको अवसर पारेर ११ वटा मौलिक गीत सार्वजनिक गरिएको छ । आइतबार राष्ट्रिय नाचघर जमलमा आयोजीत कार्यक्रममा ११ वटै गीतका सर्जकहरुको उपस्थितीमा सामूहिक विमोचन गरिएको हो ।
राष्ट्रिय लोक सन्चारकर्मी नेपालले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय साँस्कृतिक संस्थानका महाप्रबन्धक किरण बाबु पुनले मौलिकपनले भरिएका गीतहरु सामूहिक रुपमा विमोचन गर्न पाउँदा खुसी लागेको बताए । साथै साँस्कृतिक पर्व तीज भन्ने बित्तिकै नारीहरु जोडिने भएकाले नारीहरुको भाव गीतमा अटाउनुपर्ने धारणा राखे । सस्तो लोकप्रियता तर्फ नलाग्न सम्पुर्ण कलाकर्मीहरुलाई आग्रह गरे । ‘यो एक साँस्कृति पर्वहो । यसलाई नयाँ पुस्तासम्म पुर्याउनका लागी चुनौती छ । अहिले साँस्कृतिक संस्थानले त्यो कुरालाई बिशेष ध्यान दिएको छ । त्यस्का लागी सस्थानबाट बिभिन्न कार्यक्रमहरु राखिएको छ ।’ प्रमुख अतिथि पुनले भने । ‘संगीत सेन्सरको कुरामा नियमन निकायको रुपमा साँस्कृति संस्थानले अधिकार पाएमा त्यसमा काम गर्नेछ । त्यसका लागी हामीले सरकार समक्ष पत्र पनि पठाइसकेका छौं ।’
कार्यक्रममा सार्वजनिक ११ वटा मौलिक तीज गीतमा शान्तिश्री परियारको स्वरमा काली पसम की, सूर्य खड्का र सुनिता बुढा क्षेत्रीको स्वरमा सीताका माईती, सर्मिला गुरुङ र कमला पोखरेलको स्वरमा बाबाको आगनी, राधिका ढकाल, सारधा रसाइली र कोपिला तामांग वाइवाको स्वरमा सारी लरक्कै, शान्ता जिसी र प्रेम सापकोटा सोनुको स्वरमा फेरी आयो तीज, खुमन अधिकारी र कल्पना पराजुलीको स्वर कालो कपाल पारेर फरर, उमा श्रेष्ठको स्वरमा मैदानैमा ताल, सुनिता बुढा क्षेत्रीको स्वरमा चेलीलाई माइती, सरस्वती लामिछानेको स्वरमा सैनाले दिएको ऐना, अनिता चलाउने र खेम सेन्चुरीको स्वरमा म राम्रो कि उ राम्रो भन्देऊ र शान्तिश्री परियारको स्वरमा यसपालीको तीज रमाइलो गीत रहेका छन् ।
कार्यक्रमका सभापति राष्ट्रिय लोक सन्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतमले सामूहिक रुपमा सार्वजनिक भएका ११ मौलिक तीज गीतका सर्जकहरुलाई बधाई दिए । साथै उनले गीतसंगीतमा लागेको सम्पुर्ण सजर्कलाई मौलिकता नबिर्सिदिन आग्रह गरे । ‘हामीले संस्कृति र संस्कारलाई भुलेनौं भने मौलिकता बच्नेछ ।’ अध्यक्ष गौतमले भने, ‘भोलीका दिनमा यस्ता किसिमका कार्यक्रमलाई हामीले विशेष स्थान दिनेछौं ।’
कार्यक्रममा बिशिष्ट अतिथि तथा वरिष्ठ गायक साँस्कृति अध्ययन तथा खोज अनुसन्धान परिषद्का अध्यक्ष बम बहादुर कार्कीले पछिल्लो समय गीतमा विकृती आयो भन्ने निकै सुनिरहेको तर बिकृती गीतमा मात्रै हैन संस्कृतिमै रहेको भन्दै आफूहरुले अध्ययन गरिरहेको बताए । बि.स. २०४४ सालमा आफूले तीजमा पनि गीत निकाल्नु पर्छ । महिला दिदीबहिनीहरुलाई नाँच्ने गीत चाहिन्छ भनेर सुरु गरेको भन्दै आफ्नो अनुभव सुनाए । पछिल्लो समय तीज गीत हेर्न र सुन्न लायक नभएको भन्दै उनले पछिल्लो समय आफूले घरमा टेलिभिजन हेर्नै छाडेको बताए ।
यस्तै वरिष्ठ गायिका तारा थापाले आजभन्दा ५३ बर्ष अगाडी गाएको गीतलाई स्मरण गर्दै अहिले आइरहेका गीतमाथी विमर्श गरिन् । ‘उ बेलाका गीत र अहिलेमा धेरै फरक छ । समय पनि परिवर्तन हुँदै आएको छ तर समय र प्रबिधि परिवर्तन भयो भन्दैमा मौलिकता बिर्सनु हुँदैन । बिकृती फैलाउने गीत आयो भनिरहदा सुरुमा त गीत बनाउने सर्जकले नै निकै बिचार पुर्याएर निकाल्नु पर्छ । आफ्नो विवेक लगाउनुपर्छ ।’ गायिका थापाले भनिन् । ‘तीज गीत भनेर सार्वजनिक भएको देख्छु त्यो भिडमा कतिपय यस्ता गीत छन् जसले कुनै मर्म बोकेको हुँदैन । ति गीतबाट हामीले के पायौँ भन्ने लाग्छ ।’ उनले सरकारले केहि गरेन भन्नु भन्दा पनि आफ्नै सुध्रिनुपर्ने धारणा राखिन् ।
यस्तै वरिष्ठ गायिका सर्मिला गुरङले पछिल्लो समय तीजगीत भन्दै बिभिन्न किसिमका गीत सार्वजनिक भइरहेको अवस्थामा यस्ता मौलिक गीत पनि सार्वजनिक भएको भन्दै खुसी ब्यक्त गरिन् । साथै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले मौलिक गीतहरुलाई उद्धार गर्ने काम राष्ट्रिय लोक सन्चारकर्मीले गरेको बताइन् । कलाकार सँगै सन्चारकर्मीहरुले यसरी नै आफ्नो कर्म नबिर्सिदिनु हुन अनुरोध गरिन् । ‘तीजमा भड्कीलो गीत गाउनेहरुलाई मिडियाले खबरदारी गर्नेहो भने त्यस्ता गीत गाउनेहरु बिस्थापीत हुनेछन् ।’
यस्तै प्रस्तोता समाजका अध्यक्ष शिव हमालले तीजको समयमा आउने विकृतीजन्य गीतहरुप्रति प्रतिष्ठानले पनि सधैं आवाज उठाउँदै आएको र त्यस्ता कलाकारलाई निरुत्साहित गर्ने गरेको बताए । पछिल्लो समय मौलिक भन्दा पनि उश्रृंखल गीत गाउने र नाँच्नेहरुको डिमाण्ड हुने गरेकाले त्यस्ता काम रोक्न सम्पुर्ण कलाकारलाई आग्रह गरे ।
यस्तै लोकप्रिय गायिका सिन्धु मल्लले आफ्नो दुई दशक लामो सांगितीक यात्रामा आफूले कहिल्यै पनि लोकक्षेत्रमा असर पर्ने, बिकृती फैलाउने गीत नगाएको भन्दै सुरुमा आफैले सेन्सर गर्नुपर्ने उनको धारणा थियो । गायिका मल्लले पछिल्लो समय तीज गीतको समयमा विकृती फैलिएको आफूले पनि महसुस गरेको बताइन् । पहिलेको समय र अहिलेको समय फरक त, समय परिवर्तन भएको छ तर परिवर्तनको नाममा समाजमा स्विकार गर्न गाह्रो हुने गीतसंगीतलाई प्रोत्साहन नगर्न आग्रह गरिन् ।
लोकप्रिय गायक बद्री पंगेनीले पछिल्लो समय लोकगीतमा आएका बिकृतीमाथी अवाज उठाउँदै आएकोमा राष्ट्रिय लोक सन्चारकर्मी नेपाललाई धन्यवाद दिए । यस्तै उनले राज्यको निकायबाट गीतसंगीतलाई नियमन गर्ने निकायको आवश्यक भएको भन्दै यो बिषयमा राज्यले बिशेष ध्यान दिनुपर्ने समय आएको बताए ।
यस्तै इन्द्रेणी समाजका अध्यक्ष गायक कृष्ण कँडेलले नराम्रा गीतका बिषयमा कसैले नबोल्ने, प्रचारप्रसार नगर्ने र वास्तै नगर्ने हो भने त्यस्ता गीत र सजर्क आफै बिस्थापित हुँदै जाने धारणा राखे । राम्रालाई सन्चारकर्मीहरुले पनि प्रचार गर्दै जाने र नराम्रालाई आम दर्शकले पनि वास्ता नगरिदिन आग्रह गरे ।
राष्ट्रिय लोक सन्चारकर्मी नेपालका संस्थापक अध्यक्ष गोविन्द गिरीले संस्थाले नेपाली कला संस्कृति जोगाउन सधैं आवाज उठाउँदै आएको र आगामी दिनमा पनि यस्ता किसिमका कार्यक्रमको आवश्यक रहेको बताए । पुर्खाहरुले बनाएको संस्कृतिलाई अहिलेकाले जोगाउनु पर्ने धारणा राखे । उनले भनेका छन्, ‘अहिले तीजको नाम दिएर सार्वजनिक भएका गीतहरु अंग्रेजी गीत जस्ता छन् । त्यस्ता गीतले कसरी मौलिकतालाई बचाउँछन् होला र त्यसैले सबैले आआफ्नो क्षेत्रमा राम्रो सोचौं र राम्रो गरौं ।