बी अविरल
काठमाडौँ । नेपालको राजनितीलाई हेर्दा बहुदलीय प्रतिस्पर्धामा उत्रिएका धेरै पार्टीहरु भन्दा नेकपा एमाले एउटा शक्तिशाली पार्टीको रुपमा स्थापित भएको छ । संगठन निकै मजबुद भएको यो पार्टीलाई जनसमर्थन पनि उत्तिकै छ । यतिमात्र होइन हरेक निकायमा यो पार्टीको उपस्थिति बलियो रहेको छ । जनताको न्यनुतम र अधिकतम आवश्यकता बुझ्न सक्ने र राष्ट्रका समस्या नजिकबाट नियाल्ने क्षमता यो पार्टीसँग छ । नागरिकहरुको जीवन र राष्ट्रियताको सवाल यो पार्टीले राम्ररी बुझेको छ ।
देशलाई सहि दिशामा हाक्ने र जनता सुखी बनाउने स्पष्ट विचार अघि सारेको नेकपा एमाले अन्य पार्टी भन्दा त्यसकारण लोकप्रिय बनेको छ । तर यति हुदाहुँदै पनि यो पार्टीले किन स्पष्ट बहुमत लिन सक्दैन ? यत्रतत्र यो जिज्ञासा उठ्ने गरेको छ। यसको मुख्य कारण आन्तरिक समस्या नै हो, पार्टी भित्र गुटउपगुट मौलाउनु नै हो ।
आफूले नपाउदा वा आफुले भनेको मान्छेले टिकट नपाउदा घात अन्तरघात गर्ने, असहयोग गर्ने र पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेल्ने,असक्षम र हरिलठकहरुको कुरा नेतृत्वले सुन्ने र गुटका वाहनामा सक्षमलाई पाखा लगाउनु र असक्षमलाई काखी च्याप्नु वा नेतृत्वमा ल्याउनु वा महत्त्वपूर्ण जिम्मेवारी दिनु ।
आफ्ना निजि स्वार्थका निम्ति आफ्ना हनुमानहरुलाई जबर्जस्त स्थापित गर्नु ।विचार,सिद्धान्त र गन्तव्य बारेमा अत्तोपत्तो छैन तर त्यो पदमा कसरी पुगिन्छ भनेर खुराफाति गर्ने हावी हुनु । यी आदि कुराले गर्दा साथै अर्को एउटा गंभिर कारण पनि छ त्यो के भने भिआईपी र भिभिआईपी का पिएहरुको रवैया पनि एउटा मुख्य कारण हो । मुख्यमन्त्री,मन्त्री तथा प्रधानमन्त्री वा अन्य भिभिआईपी नै किन नहोस् उहाँहरूका पिएले कार्यकर्ता र जनताका समस्या बुझ्ने भिभिआईपीकोमा पुर्याउने काममा सकारात्मक भूमिका खेल्नु भएको देखिदैन, फोन नै नउठाउने कुरै नसुन्ने, भिभिआईपी वा भिआईपीकोमा कुरै नपुर्याउने जस्ता क्रियाकलाप उहाँहरूबाट हुदा जमातमा असन्तुष्टि पैदा हुन्छ ।
त्यसले नकारात्मक सन्देश जनमानसमा जान्छ । एक कान दुईकान मैदान हुदा केही मतहरु अन्यत्र जाने नै भयो त्यो लगभग १० प्रतिशत मत हुन सक्छ । हुन पनि पिएहरु आफु आफैलाई भिभिआईपी वा भिआईपी ठान्ने गर्छन् । उहाँहरूको काम त सहजिकरण हो, सवलीकरण हो । चुस्तदुरुस्त हो, र भिभिआईपी तथा भिआईपीलाई पूर्णरुपमा सफल बनाउनु हो । जनता र कार्य कर्ताहरुलाई सहज पहुँच पुर्याउनु हो तर यहाँ त व्यक्ति व्यक्ति हेरिन्छ, क्षेत्र क्षेत्र हेरिन्छ, अनुहार, अनुहार हेरिन्छ अनि काखापाखा गरिन्छ ।
यी र यस्तै कारणहरुले गर्दा जनताको व्यापक समर्थन हुदाहुदै पनि आजसम्म नेकपा एमालेले स्पष्ट बहुमत ल्याउन नसकेको हुनुपर्दछ । यस्ता विषयहरूमा नेतृत्वले ध्यान पुर्याइ कमीकमजोरी सच्याए नेकपा एमालेले बहुमत ल्याउन कुनै कठिन छैन ।