काठमाडौं । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना भारत पुगेकी छन् । हसिना चढेको जहाज भारतीय वायु सेनाको हिन्डनस्थित अड्डामा अवतरण भएको भारतीय समाचार संस्थाले जनाएका छन् ।
सोमबार बिहान सुरक्षा खतरा भएपछि हसिनाले राजीनामा दिएर बंगलादेश छाडेकी थिइन् । उनी सेनाको सी–१३० एयरक्राफ्ट, एजेएएक्स १४३१ कलसाइन भएको जहाज चढेर भारत आइपुगेकी हुन् । सोमबार साँझ ५ः३६ बजे उनी चढेको जहाज अवतरण भएको इण्डिया टुडेले समाचारमा लेखेको छ ।
बंगलादेशको सेनाको जहाज पटना हुँदै नयाँ दिल्ली नजिकै रहेको भारतीय वायु सेनाको अड्डामा अवतरण गरेको हो । त्यहाँ भारतीय एयर अफिसर कमान्डिङ सन्जय चोपडाले स्वागत गरेका थिए । हसिना भारतबाट बेलायत जाने सम्भावना छ । यद्यपि कहिले जाने भन्ने यकिन भइसकेको छैन ।
सोमबार हसिनाले १५ वर्षे सत्ता छाडेसँगै प्रदर्शनकारीहरूले खुशीयाली मनाएका छन् । प्रदर्शनकारीहरू प्रधानमन्त्री निवासमा प्रवेश गरेका थिए । हसिना सन् २००९ देखि सत्तामा थिइन् । १५ वर्षे सत्तामा चलाएकी उनीमाथि शक्तिको दुरूपयोग गरेको आरोप लाग्दै आएको थियो । उनले आफ्ना विपक्षी दलका नेताहरूविरूद्ध शक्तिको दुरूपयोग गरेको आरोप छ । ७६ वर्षीय हसिनाले चार पटक लगातार चुनाव जितेकी छन् ।
गत जनवरीमा भएको चुनाव विपक्षी दल बंगलादेश नेशनलिस्ट पार्टीले बहिस्कार नै गरेको थियो । अहिले आरक्षण विरूद्धको प्रदर्शनमा पनि प्रदर्शनकारीको आवाज नसुनि बल प्रयोग गर्दै जाँदा उग्ररूप लिएको हो । आइतबार मात्रै त्यहाँ कम्तिमा ९१ जनाले ज्यान गुमाएका थिए । यस आरक्षण विरूद्धको प्रदर्शनमा मात्रै ३०० जना भन्दा बढीको मृत्यु भइसकेको छ । हसिनाले राजीनामा दिएसँगै बंगलादेशका सेना प्रमुख वाकेर–उज–जमनले विभिन्न राजनीतिक दलका प्रमुखसँग छलफल गरेका थिए ।
त्यसपछि देशबासीका नाममा सम्बोधन गर्दै अन्तरिम सरकार बनाउनेबारे छलफल गरिरहेको बताएका थिए । त्यस्तै राजनीतिक संकटको आजै साँझ सम्ममा समाधान निकाल्ने पनि बताएका थिए । भूतपूर्व सेनाका सन्तानहरूलाई सरकारी जागिरमा आरक्षण दिने नीति विरूद्धको आन्दोलन अब सरकारविरोधी आन्दोलनमा परिणत भएको हो ।
आन्दोलनकारीहरूले प्रधानमन्त्री शेख हसिनाले राजीनामा नदिएसम्म आन्दोलन नरोकिने भनेका थिए । आइतबार ठूलो संख्यामा हताहती भएपछि सरकारले देशव्यापी अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ । साथै इन्टरनेट सेवा पनि बन्द गरिएको थियो । सोमबारसम्म सबै सरकारी कार्यालयहरूमा पनि बिदा दिइएको थियो । पूर्व प्रधानमन्त्री शेख हसिना हिंसात्मक प्रदर्शनमा उत्रिएकाहरू विद्यार्थी नभई आतंककारी रहेको बताएकी थिइन् ।
सन् १९७१ मा पाकिस्तानबाट छुट्टिएर बंगलादेश स्वतन्त्र हुँदा लडेका बंगलादेशी सैनिकका सन्ततीहरूलाई जागिरमा ३० प्रतिशत आरक्षण दिने नीति ल्याएपछि विद्यार्थीहरू आन्दोलित भएका थिए । जुलाइ पहिलो साता बंगलादेशको उच्च अदालतले पनि सरकारको पक्षमा निर्णय फैसला गरेपछि आन्दोलन चर्किँदै हिंसात्मक बनेको थियो । जुलाई तेस्रो साता उच्चको आदेश उल्ट्याउँदै बंगलादेशको सर्वोच्च अदालतले ३० प्रतिशतको आरक्षणलाई ५ प्रतशित बनाउन आदेश गरेको थियो ।
त्यस्तै एक प्रतिशत जनजाति समुदाय र एक प्रतिशत अपांगता भएका वा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका रूपमा पहिचान गर्नेहरूका लागि छुट्याउन पनि आदेश दिएको थियो। ९३ प्रतिशत भने मेरिटको आधारमा बनाउन आदेश दिइएको हो । सर्वोच्चले नै सरकारको निर्णयमा ब्रेक लगाइदिएपछि विद्यार्थीहरूलाई आन्दोलन फिर्ता लिन भनिएको थियो । आन्दोलनकारीलाई घर फर्किन भनेपनि २०० जना भन्दा बढीको मृत्यु भइसकेको थियो । सयौं घाइते र त्यही हाराहारीमा पक्राउ पनि परेका थिए ।
विद्यार्थीहरूले मृतकका परिवारलाई क्षतपूर्ति दिनुपर्ने, घाइते विद्यार्थीको सरकारले उपचार गरिदिनुपर्ने लगायका माग राख्दै आन्दोलनलाई निरन्तरता दिए । विद्यार्थीको आन्दोलनलाई प्रधानमन्त्री हसिनाले सुरूवातदेखि नै बेवास्ता गर्दै आएकी थिइन् । उनले सेना लगाएरै विद्यार्थीहरूको आन्दोलनलाई दबाउने कोशिस गरेकी थिइन् । सर्वोच्चको आदेशले उनको निर्णयलाई उल्ट्याइदिए पनि आन्दोलनबाट भएको क्षति र त्यसलाई परिपूर्ति गर्नेबारे चासो नदेखाएपछि विद्यार्थीहरूले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गरेका थिए ।
उनीहरूले देशभरका नागरिकलाई सरकारलाई कर नबुझाउन आह्वान समेत गरिरहेका छन् । विद्यार्थीहरूको आन्दोलनमा समाजका अन्य तप्काका मानिसहरू पनि जोडिएकाले आन्दोलत थप बृहत बन्दै गएको बताइएको छ । उनीहरूको आन्दोलनामा अहिले विपक्षी दलसहित भुतपूर्व सैनिकहरू र नागरिकहरू पनि जोडिएका छन् । बंगलादेशमा हिंसा बढेपछि भारतले त्यहाँ रहेका आफ्ना नागरिकहरूलाई सकेसम्म घर बाहिर ननिस्कन र सतर्क रहन आग्रह गरेको छ ।
बंगलादेशको ढाका अन्तर्राष्ट्रिय विमानस्थल बन्द
काठमाडौं । बंगलादेशको राजधानी ढाकास्थित अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । बंगलादेशको सेनाको जनसम्पर्क निर्देशनालयले एक सूचना जारी गरी ढाकाको हजरत सहजलाल अन्तर्राष्ट्रिय रंगशाला साँझ ६ बजेदेखि बन्द भएको जानकारी गराइएको हो । विमानस्थलका सबै काम कारबाही पनि बन्द गरिएको छ । प्रधानमन्त्री सेख हसिनाले राजीनामा दिएपछि धेरै मानिसहरु विमानस्थलमा जान थालेपछि सेनाले बन्द गरेको हो ।